location
Khumaltar, Lalitpur

अब भगवतीमाई गाउँपालिकामै हुन्छ माटोको गुणस्तर परीक्षण

24 Dec, 2024

दैलेखको भगवतीमाई गाउँपालिका कृषि उपज उत्पादनका हिसावले उर्वरभूमि हो । यहाँका अधिकाँश किसानले परम्परागत ढंगले कृषि उत्पादन गरिरहनुभएको छ । बजार तथा सडक संजालसँग जोडिएका कृषकहरुले आधुनिक ढंगले खेतीपाती गर्नुहुन्छ । यस भेगमा खाद्यान्न, फलफुल (सुन्तला जात), तरकारी, मसला बाली, बाख्रापालन, आलुखेती, भटमास खेतीको प्रचुर सम्भावना छ ।  किसानहरुले केरा, ओखर, मौरीपालन, टिमुर खेती, भैसीपालन समेत गरिरहनुभएको छ । यहाँका धेरै किसानलाई आफ्नो बारीको माटोमा कस्तो गुण छ र त्यसमा कस्तो खेती फस्टाउँछ भन्ने ज्ञान छैन । किसानहरुले परपरागतरुपमा खेती किसानी गरिरहनुभएको थियो । आफूले खेती गरिरहेको माटोको गुणस्तर परीक्षण गर्नु परेएकीकृत प्रयोगशाला सुर्खेत धाउनुपर्ने बाध्यतामा  थियो ।

गाउँपालिका भित्रका फ्याट्टफुट्ट किसानले सुर्खेत पठाएर माटो परीक्षण गर्नुहुन्थ्यो । अब भने नियमित माटो परीक्षण गर्न गाउँपालिकामै मिनि प्रयोगशाला स्थापना गरिएको छ । न्च्ब्एभ् परियोजनाले को २०८१ जेठ अन्तिममा प्रयोगशाला स्थापनाको काम पुरा भएको थियो । प्रयोगशालामा माटो परीक्षणका किट बक्सहरु व्यवस्थापन भई माटो परीक्षणको काम सुरु  भएको छ ।  माटो परीक्षण सेवा सुरु भएसँगै यहाँका किसानको खेतबारीको कुन माटोमा कुन बाली उब्जाउ गर्दा राम्रो हुन्छ ? माटोको स्वास्थ्य कस्तो छ ? लगायतको नतिजा प्रयोगशालाबाटै जानकारी पाउन थालेका छन् ।   पत्ता लगा । कृषि उपजलाई बढाउँदै माटोको अवस्था अनुसारको खेती र माटोको उपचार गर्नका लागि माटोको परीक्षण  प्रयोगशाला निर्माण भएको छ । 

किसानको हितलाई ध्यानमा राख्दै माटोमा समस्या समाधान तथा माटो परीक्षण गरेर उपचार गर्नका लागि प्रयोगशाला स्थापना भएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले  बताउनुभयो । ‘प्रयोगशाला स्थापना भएपछि गाउँपालिकाभरीका सबै किसानले स्थानीयस्तरमै माटो परीक्षणको सुविधा  पाउनुभएको छ,’ अध्यक्ष थापाले भन्नुभयो ‘ खेतीपाती गरिरहेको खेतबारीको माटो परीक्षण गरेर माटोको उपचार तथा माटो सुहाउँदो खेती गर्ने अवसर किसानलाई प्राप्त भएको छ, यसले उत्पादन बढाउनेछ ।’  माटोको खाद्य तत्व, अम्लीयपन, क्षारियपना र माटोको समस्याका विषयमा माटोको परीक्षणपश्चात् मात्रै पत्ता लाग्छ ।  सबै किसानलाई ल्याब स्थापना भएकोबारे सूचना दिएर माटो परीक्षणतर्फ प्रोत्साहन  गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष थापाले बताउनुभयो । प्राविधिकहरुलाई फिल्डमा खटाएर माटो परीक्षणका लागि नमूना संकलनको विधि पनि सिकाईनेछ । 

स्थानीय तहको केन्द्रमै प्रयोगशाला स्थापना भएपछि किसानहरु समेत हौसिनुभएको छ ।  परम्परागत शैलीमा खेतीपाती गर्दै आउनुभएको भगवतीमाई गाउँपालिका-६ चिपिन गाउँका युवा किसान किशोर खड्‌का भन्नुहुन्छ ‘माटो परीक्षण गर्नुपर्छ भन्ने नै थाहा थिएन्, गाउँपालिकामै प्रयोगशाला स्थापना भएपछि गाउँमै माटो परीक्षणको सुविधा पायौँ, ।’  पाखोबारीमा नगदेबाली र घर आसपासको जग्गामा तरकारी लगाउने गर्नुभएका खड्‌काले माटो परीक्षण नगरि खेती गर्दा मेहनत र परिश्रम अनुसारको उत्पादन नहुनेबारे ज्ञान अहिले आएर जानकारी पाएको बताउनुहुन्छ ।  उहाँले माटो परीक्षणको नतिजा अनुसार माटोको उपचार गरेर माटो सुहाउँदो खेती सुरु गर्नुभएको छ । 

भगवतीमाई गाउँपालिका-१ बेस्तडामा बसोबास गर्दै आउनुभएका किसान श्यामराज थापाको परिवारले कृषि पेशा अंगाल्दै आएको छ । उहाँले नगदे बाली खेती गर्नुहुन्छ । घर नजिकै दुई वटा टनेलमा तरकारी खेती गरिरहनुभएका थापा भन्नुहुन्छ ‘माटो परीक्षण गर्नुपर्छ भन्ने ज्ञान त थियो तर सुर्खेतसम्म माटो परीक्षणका लागि जान सकेका थिएनौँ ।’ ‘माटो परीक्षण गर्न सुर्खेत पठाउनुपर्ने बाध्यता थियो, नजिकै यो सुविधा थिएन्,  सुर्खेतसम्म पुगेर माटो परीक्षण गर्न रकम धेरै खर्च हुन्थ्यो, माटो परीक्षण नगर्दा आफ्‌नो बारीमा के उत्पादन हुन्छ ? माटोको अवस्था कस्तो छ भन्ने पनि थाहा थिएन्,  बारीमा मेहनत गरे अनुसारकोउत्पादनपनि हुन सकेको थिएन्,’ उहाँले भन्नुभयो । अहिले गाउँपालिकामै माटो परीक्षणको सुविधा आएपछि निकै खुसी लागेको र किसानहरुको अनावश्यक खर्चसमेत कटौती भएको उहाँको भनाई छ । ‘माटोको परीक्षणविनै नगदे बाली, तरकारी तथा फलफूल खेती गर्दा किसानलाई ठूलो नोक्सानी हुने गरेको थियो, अब म जस्तै कृषि पेशाबाटै जीविकोपार्जन गर्दै आएका किसानले लगाएको खेतीपाती नोक्सानी हुनबाट जोगाउन माटो परीक्षणले सहयोग पुग्छ,’ उहाँले भन्नुभयो ।


यसरी गरीन्छ माटो परीक्षण
बारीमा एक बाली पाकेर नयाँ बाली लगाउनुअघिको बीचको समयमा माटो परीक्षण गरिन्छ । पहिलो चरणमा माटोको नमूना संकलन हुन्छ । तरकारी, अन्नबाली वा फलफूल कुन खेती गर्ने हो सोहि अनुसार माटोको नमूना संकलन गर्ने गरिन्छ । संकलन गरिएको माटोलाई प्रयोगशालामा ल्याई परीक्षणका लागि तयार गरिन्छ । परीक्षण गर्न तयार पारिएको माटोको प्रयोगशालामा किसानको नाम, ठेगाना, माटोको नमूना लिएको मिति, अगाडी खेती गरेको बाली, त्यसपछि लगाउने बाली लगायतको विवरण तयार हुन्छ । त्यसपछि माटोको नाइट्रोजन, फस्फोरस र पोटास तथा अम्लियपना र क्षारियपना परीक्षण हुन्छ । परीक्षण गरिएको माटोका नमूनाको नतिजा अनुसार कलर चार्टमा दाज्ने गरिन्छ । माटोको स्वच्छताबारे प्राप्त नतिजा अनुसार किसानलाई कुन खेती गर्ने र उपचार विधिबारे सिफारिस गरिन्छ ।